काठमाडौं । काठमाडौं महानगरपालिकाले ट्राफिक जाम र साँघुरा गल्लीका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न ढिलाइ हुने समस्या समाधान गर्न शुक्रबारदेखि बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबार महानगरको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रस्तुतिकरण कार्यक्रममा सेवा सुरु गरिएको जानकारी दिइन्।
उनका अनुसार एम्बुलेन्स सेवाका लागि १०२ नम्बरमा फोन गर्ने सेवाग्राहीलाई आवश्यकताअनुसार बाइक एम्बुलेन्ससमेत पठाइनेछ। चारपाङ्ग्रे एम्बुलेन्स पुग्न नसक्ने साँघुरा गल्ली तथा चोकमा तत्काल प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउन बाइक एम्बुलेन्स परिचालन गरिनेछ।
डंगोलले काठमाडौंमा एम्बुलेन्सको संख्या पर्याप्त भए पनि ट्राफिक जाम र भौगोलिक अवस्थाका कारण समयमै सेवा दिन चुनौती रहेको बताइन्। बाइक एम्बुलेन्सलाई आपत्कालीन अवस्थामा पहिलो प्रतिक्रिया दिने सेवाका रूपमा सञ्चालन गरिने उनको भनाइ छ।
महानगरपालिकाले स्वास्थ्य संस्थाको आवश्यकता र उपलब्ध तथ्यांकका आधारमा पूर्वाधार, उपकरण तथा प्रत्यक्ष स्वास्थ्य सेवामा सहयोग र सहकार्य गर्दै आएको जनाएको छ।