काठमाडौं । कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।
पन्तले शुक्रबार काठमाडौंको भोटाहिटीस्थित साइबर ब्युरोमा पुगेर आफूविरुद्ध भ्रामक सामग्री प्रकाशित तथा प्रसारित गरिएको आरोप लगाउँदै श्रेष्ठमाथि कानुनी कारबाहीको मागसहित उजुरी दर्ता गराएका हुन् ।
उजुरी निवेदनमा उल्लेख भएअनुसार, २०८३ असोज २९ गते अनलाइन सञ्चारमाध्यम ‘जनआस्था’ तथा त्यसका सम्पादक किशोर श्रेष्ठको आधिकारिक फेसबुक प्रोफाइलबाट आफ्नो चरित्रहत्या गर्ने खालका सामग्री सार्वजनिक गरिएको पन्तको आरोप छ ।
‘कलाकार हिमेश, अरुको जग्गा हडप्नले कस्तो कानुन सिकाउने ?’ शीर्षकमा प्रकाशित सामग्री कपोलकल्पित, भ्रामक, निराधार र बदनियतपूर्ण रहेको पन्तले निवेदनमा उल्लेख गरेका छन् ।
विद्युतीय माध्यमबाट सम्प्रेषित उक्त सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष्ठामा आँच पुर्याउनुका साथै व्यावसायिक निष्ठा, राजनीतिक जीवन र सार्वजनिक छविमा समेत नकारात्मक असर पार्ने उद्देश्य राखेको पन्तको दाबी छ ।
उनले आफ्नो चरित्रहत्या गर्ने तथा प्रतिष्ठामा क्षति पुर्याउने कार्यमा संलग्न रहेको आरोप लगाउँदै पत्रकार श्रेष्ठमाथि आवश्यक कानुनी कारबाही गर्न साइबर ब्युरोसँग माग गरेका छन् ।
उजुरीसँगै पन्तले आफ्नो दाबी पुष्टि गर्न आवश्यक स्क्रिनसट तथा नागरिकताको प्रतिलिपिसमेत प्रमाणका रूपमा साइबर ब्युरोमा पेस गरेका छन् ।