काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरीलाई सम्भावित विपद् तथा चुनौतीको सामना गर्न सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
एकहत्तरौँ प्रहरी दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले जनताको सेवामा अग्रपङ्क्तिमा खटिने प्रहरी सङ्गठनलाई प्रभावकारी बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरेका छन्।
उनले प्रहरी कर्मचारी, उनीहरूका आश्रित परिवार तथा सर्वसाधारणको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना रहेको पनि बताएका छन्।
प्रधानमन्त्री शाहले कर्तव्य पालनाका क्रममा हालैको भोटेकोशी–त्रिशूलीलगायतका विपद् तथा विभिन्न कालखण्डमा ज्यान गुमाएका प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्। कर्तव्य निर्वाहका क्रममा घाइते तथा अशक्त भएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
‘विपद्मा सारथी, सङ्कटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ ७१औँ प्रहरी दिवस मनाइरहेको उल्लेख गर्दै उनले कार्यक्रममा विमोचन हुने ‘पुलिस मिरर–२०८३’ ले नेपाल प्रहरीको इतिहास र वर्तमानलाई भावी पुस्तासँग जोड्ने तथा सङ्गठनका स्मृतिलाई जीवन्त राख्ने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले पछिल्लो समय बढ्दै गएका वित्तीय तथा साइबर अपराधको रोकथाम र नियन्त्रणमा सरकार गम्भीर रहेको बताएका छन्। यस्ता अपराधबाट पीडित नागरिकका गुनासो प्रभावकारी रूपमा सम्बोधन गर्न नेपाल प्रहरीको सहकार्यमा नेपाल राष्ट्र बैंक, इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायक र डिजिटल वालेट सञ्चालकलाई समेटेर आवश्यक व्यवस्था मिलाउने काम भइरहेको उनको भनाइ छ।
त्यसैगरी, कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग विस्तार, ‘एरियल सेक्युरिटी एण्ड सपोर्ट युनिट’ तथा ‘इन्टिग्रेटेड एन्टिस्काम सेन्टर’ स्थापना गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिएका छन्।
नेपाल प्रहरीको विपद् व्यवस्थापन क्षमता अभिवृद्धि, प्रविधि विस्तार र पूर्वाधार निर्माणमा सहयोग गर्ने मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय विकास साझेदारप्रति प्रधानमन्त्री शाहले धन्यवाद व्यक्त गरेका छन्।
नेपालको आन्तरिक शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न नेपाल प्रहरी निरन्तर खटिरहेको उल्लेख गर्दै उनले सङ्कटका बेला राष्ट्रसेवकको धैर्य, सही निर्णय र कुशल कार्यसम्पादनको महत्त्व औँल्याएका छन्। सङ्कटको समयमा देखाइने संयमता र कार्यक्षमताले नै चुनौतीको सामना गर्न मद्दत गर्ने उनको भनाइ छ।
प्रधानमन्त्री शाहले पठाएको शुभकामना सन्देश प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कार्यक्रममा वाचन गरेका थिए।