काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको संसदीय सुनुवाइ प्रक्रिया ‘होल्ड’ गरिएको छ।
संसदीय सुनुवाइ समितिले सुरुमा थापालाई आफ्नो कार्ययोजना प्रस्तुत गर्न दिएको थियो। त्यसपछि उनको स्थायी आवासीय अनुमति (पीआर) सम्बन्धी विषयमा प्रश्न उठेपछि सुनुवाइ प्रक्रिया अघि नबढाई रोकिएको हो।
कार्ययोजना प्रस्तुतिपछि सांसदहरूले थापा स्वयं र उनकी श्रीमतीको जापानको पीआर रहेको विषयमा प्रश्न गरेका थिए। जवाफमा प्रस्तावित राजदूत थापाले आफूले जापानको पीआर त्यागिसकेको स्पष्ट पारे।
उनले जापानमा रहँदा नेपाल र जापानबीचको सम्बन्ध प्रगाढ बनाउन विभिन्न गतिविधिमा संलग्न भएको पनि बताए। नेपाली पहिचान प्रवर्द्धन गर्न ढाकाटोपी लगाएर कार्यक्रम सञ्चालन गर्नेलगायतका काम गरेको उनको भनाइ थियो।
थापाको जवाफपछि सांसदहरू आन्तरिक छलफलमा जुटेका थिए। उनको स्पष्टीकरणबारे निष्कर्षमा पुगेर थप छलफल गर्ने भन्दै समितिले उनलाई बाहिर राखेर छलफल गरेको थियो।
अन्ततः समितिले जापानका लागि प्रस्तावित राजदूत थापाको सुनुवाइ प्रक्रिया स्थगित गर्दै साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको सुनुवाइ सुरु गरेको छ।