पोखरा। पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय काउन्सिलरसहितको १५ शय्याको अस्पताल सञ्चालनमा आएको छ।
काठमाडौंको ठमेलमा सेवा दिँदै आएको ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पतालले घटस्थापनाको अवसर पारेर पोखरा महानगरपालिका–१७, पावरहाउसमा नयाँ अस्पताल सञ्चालनमा ल्याएको हो। अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा उपलब्ध हुने जनाइएको छ।
अस्पतालकी अध्यक्ष डा. सिया चेनचेनका अनुसार पोखराबाट दुबई र दुबईबाट पोखरासम्म नियमित सिधा उडान सुरु भएपछि विदेशी पर्यटकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सेवा विस्तार गरिएको हो। अस्पतालले अन्तर्राष्ट्रिय काउन्सिलिङसहितको सेवा प्रदान गर्नुका साथै स्थानीय बासिन्दालाई पनि स्वास्थ्य सेवा उपलब्ध गराउने उनले बताइन्।
अस्पतालका सञ्चालक समिति सदस्य विदुर खतिवडाका अनुसार संस्थाले सन् २०२२ जुलाई २२ देखि काठमाडौंको लेकनाथ मार्गमा १५ शय्याको अस्पताल सञ्चालन गर्दै आएको छ। नेपाल वैदेशिक चिनियाँ संघले उक्त संस्थालाई थप स्वास्थ्य सुरक्षा एकाइका रूपमा प्रमाणित गरिसकेको उनले जानकारी दिए।
पोखरास्थित अस्पतालमा पनि विदेशी पर्यटकलाई भाषाको समस्या नहोस् भनेर बहुभाषिक कर्मचारी, अन्तर्राष्ट्रिय ट्राभल इन्स्योरेन्सको दाबी प्रक्रियामा सहजीकरण तथा सम्बन्धित दूतावाससँग समन्वय गर्ने सुविधा उपलब्ध गराइने खतिवडाले बताए।
पोखरा र आसपासका क्षेत्रमा पदयात्रा तथा भ्रमणका क्रममा बिरामी पर्ने वा आकस्मिक स्वास्थ्य समस्या आइपर्ने पर्यटकलाई समयमै उपचार उपलब्ध गराउन अस्पतालले सहयोग पुर्याउने अपेक्षा गरिएको छ।