काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर आज बिहान स्वदेश फर्किएका छन् ।
महासभा तथा त्यसअवसरमा आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रम र द्विपक्षीय भेटवार्तामा सहभागी हुन मन्त्री खनाल असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए ।
भ्रमणका क्रममा मन्त्री खनालले नेपालका तर्फबाट ‘सगरमाथादेखि समुद्रसम्मः जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ विषयक जलवायु केन्द्रित उच्चस्तरीय विशेष कार्यक्रम आयोजना गरेका थिए ।
त्यसैगरी उनले विभिन्न मुलुकका समकक्षी तथा प्रतिनिधिसँग भेटवार्ता गर्दै द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विषयमा छलफल गरेका थिए ।
मन्त्री खनालको सक्रिय सहभागिता, उच्चस्तरीय भेटवार्ता तथा विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममा प्रस्तुत नेपालको धारणा मुलुकको हित र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका दृष्टिले महत्वपूर्ण रहेको बताइएको छ ।