झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा दैनिक उपभोग्य वस्तु सहुलियत दरमा बिक्री गर्न सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ। चाडपर्वका बेला बजारमा उपभोग्य वस्तुको माग बढ्ने भएकाले उपभोक्तालाई राहत दिन साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले छुटसहित खाद्यान्न बिक्री सुरु गरेका हुन्।
सुपथ मूल्य पसलमार्फत जिरा मसिनो र सोना मन्सुली चामलमा प्रतिकिलो पाँच रुपैयाँ तथा नुनमा प्रतिकिलो दुई रुपैयाँ छुट उपलब्ध गराइएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले चाडपर्वका बेला उपभोक्तालाई राहत पुग्ने गरी सरकारी संस्थानसँग समन्वय गरेर दैनिक उपभोग्य वस्तु सहुलियत दरमा उपलब्ध गराउने व्यवस्था मिलाइएको बताए।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिर्तामोडस्थित मुख्य शाखा कार्यालयका प्रमुख राजबहादुर राईका अनुसार जिरा मसिनो चामल प्रतिकिलो ८५ रुपैयाँ र सोना मन्सुली चामल प्रतिकिलो ५७ रुपैयाँमा बिक्री भइरहेको छ।
उनका अनुसार कार्यालयमा हाल सोना मन्सुली चामल दुई हजार ४०३ क्विन्टल, स्टिम जिरा चामल तीन हजार २३३ क्विन्टल र चिनी ४९५ क्विन्टल मौज्दात रहेको छ। माग र आवश्यकताका आधारमा थप खाद्यान्न ल्याइने उनले बताए।
त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले झापामा २५ भन्दा बढी विक्रेतामार्फत नुन तथा चिनी बिक्री गरिरहेको जनाएको छ। कार्यालय प्रमुख विष्णुप्रसाद न्यौपानेले पर्याप्त मात्रामा नुन मौज्दात रहेको जानकारी दिए।
चाडपर्वका बेला बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव, मूल्यवृद्धि तथा कालोबजारी हुन नदिन बजार अनुगमनलाई समेत प्रभावकारी बनाइने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए। उपभोक्ता हितविपरीतका गतिविधि भेटिए प्रचलित कानुनअनुसार कारबाही गरिने उनको भनाइ छ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै बिर्तामोडसहित विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङमा समेत सुपथ मूल्य पसल सञ्चालन गरेको जनाएको छ।