विराटनगर । भोटेकोशी बाढीमा परी ३० दिनदेखि बेपत्ता रहेकी विराटनगर महानगरपालिका–३ की २४ वर्षीया ऋचा निरौलाले पहिलो प्रयासमै लोकसेवा आयोगको लिखित परीक्षामा सफलता हासिल गरेकी छन्। तर, छोरीको अत्तोपत्तो नभइरहेका बेला आएको उनको सफलताको खबरले परिवारमा खुसीभन्दा पीडा थपिएको छ।
ऋचा अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत थिइन्। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परेपछि उनी सम्पर्कविहीन भएकी हुन्।
लोकसेवा आयोगले बिहीबार सार्वजनिक गरेको सब–इन्जिनियर पदको लिखित परीक्षाको नतिजामा ऋचाको नाम १२औँ क्रमसंख्यामा रहेको छ। उनले गत असार ६ गते उक्त परीक्षा दिएकी थिइन्।
परिवारका अनुसार ऋचा परीक्षा दिएको केही समयपछि मात्रै आयोजनामा काम गर्न रसुवा पुगेकी थिइन्। करिब ६ महिनाअघि कामका लागि रसुवा पुगेकी उनले पहिलोपटक लोकसेवा आयोगको परीक्षा दिएकी थिइन् र पहिलो प्रयासमै उत्तीर्ण भएकी हुन्।
ऋचाका बुबा लीलाप्रसाद निरौलाले छोरीले पहिलो प्रयासमै लोकसेवामा नाम निकाल्न सफल भएको बताए। उनका तीन सन्तानमध्ये ऋचा कान्छी हुन्।
बाढीपछि ऋचाको मोबाइलको लोकेसन उत्तरगया गाउँपालिका–१ स्थित तिरु आधारभूत विद्यालय आसपाससम्म देखिएको थियो। त्यसपछि भने उनको मोबाइल स्विच अफ छ।
छोरीको सफलताको खबर पाए पनि उनको अवस्था अज्ञात रहेकाले परिवारमा उत्सवको वातावरण बन्न सकेको छैन। परिवार अहिले पनि ऋचा सकुशल फर्किने आशामा उनको खोजी र खबरको प्रतीक्षामा छ।