सङ्खुवासभा — सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम निर्माण कार्य रोकिएको छ।
अरुण नदीमा जलसतह बढेपछि ड्याम निर्माणको काम पूर्ण रूपमा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए।
उनका अनुसार आयोजनास्थलमा नदीको बहाव बढेपछि डाइभर्सनका लागि अस्थायी रूपमा निर्माण गरिएको सुरुङबाट पानी पूर्ण रूपमा निकास हुन सकेको छैन। त्यसपछि पानी अस्थायी ड्याममाथिबाट बग्न थालेको र निर्माणाधीन स्थायी ड्यामतर्फ समेत पानी पस्न थालेपछि तत्कालका लागि निर्माण कार्य रोकिएको हो।
हाल आयोजनास्थलमा अरुण नदीको जलसतह ८१८.५० मिटर पुगेको प्रहरी निरीक्षक राजवंशीले बताए। आयोजनास्थलमा जलसतह ८१७ मिटरभन्दा माथि पुगेमा जोखिमपूर्ण मानिने भएकाले अवस्था संवेदनशील बनेको उनले बताए।
आयोजनास्थलमा नदीको बहाव र समग्र अवस्थाको निरन्तर निगरानी भइरहेको प्रहरीले जनाएको छ। वर्षा बढ्दै गएसँगै नदी तथा खोलाको तटीय क्षेत्र र पहिरोको जोखिममा रहेका बस्तीमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।
जिल्लाका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेकाले नदी आसपासका क्षेत्रमा विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।