काठमाडौं– प्रतिकूल मौसमका कारण देशभरका केही विमानस्थलमा आन्तरिक हवाई उडान प्रभावित भएका छन्।
कम दृश्यताका कारण तुम्लिङटार, भरतपुर र पोखरा विमानस्थलमा निर्धारित उडान तालिका प्रभावित भएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार तुम्लिङटारका लागि बुद्ध एयरको निर्धारित उडान रद्द भएको छ। त्यस्तै, भरतपुरतर्फ बुद्ध एयरका तीनवटा उडान रद्द भएका छन्।
पोखरा विमानस्थलमा भने मौसममा सुधार आउने प्रतीक्षामा केही उडान ढिला भएका छन्।
कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने अन्तर्राष्ट्रिय उडान भने हाल सामान्य रूपमा भइरहेका छन्।