धादिङ । लगातारको वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरो खस्ने र सडक भासिने क्रम बढेपछि धादिङ र चितवनतर्फ प्रशासनले सवारीसाधनको आवागमनमा रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार धादिङतर्फ कृष्णभीर, जरे, जवाङखोला, परेवाभीर, कमेरेभीर, ज्यामिरेलगायत सात स्थानमा पहिरो खसेको छ।
कृष्णभीरमा रातिदेखि नै पहिरोसँगै ढुंगा खसिरहेको थियो। सडकमा खसेको पहिरो हटाउने प्रयास भइरहे पनि लगातार वर्षा भइरहेकाले सडक खुलाउने काम प्रभावित भएको प्रशासनले जनाएको छ। वर्षाका कारण सडकको तल्लो भागसमेत भासिन थालेको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले जानकारी दिइन्।
उनका अनुसार राजमार्गका विभिन्न स्थानमा पहिरो हटाउने काम जारी रहे पनि पानी पर्ने क्रम नरोकिँदा सडक खुलाउन तथा सम्भावित जोखिम व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ।
यता, पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ फिस्लिङनजिक धारापानीमा पनि सडक भासिएको छ। शुक्रबार बिहान करिब सवा ६ बजे सडक भासिएपछि उक्त क्षेत्रमा यातायात अवरुद्ध भएको छ।
लगातारको वर्षाका कारण पहिरो खस्ने र सडक भासिने जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धादिङले अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरेको छ।
त्यसैगरी, जिल्ला प्रशासन कार्यालय चितवनले पनि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाएको छ।
नेपाल मौसम विज्ञान विभागले असोज ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेतावनी जारी गरेको छ। थप वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरोधको जोखिम बढ्न सक्ने भएकाले प्रशासनले सतर्कता अपनाउँदै राजमार्गमा आवागमन रोकेको हो।
प्रशासनले सडकको अवस्था तथा जोखिम मूल्याङ्कन गरी राजमार्ग खुलाउने सम्बन्धमा आवश्यक सूचना जारी गर्ने जनाएको छ। यात्रु तथा सवारी चालकलाई जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न र सम्भव भएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ।