काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै पहिरो खस्दा बीपी राजमार्ग अवरुद्ध भएको छ। शुक्रबार बिहान करिब ४ः३० बजे रोशी गाउँपालिका–७ चारसयबेँसी र रोशी गाउँपालिका–८ गिम्दीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
यसैबीच, जल तथा मौसम विभागको मौसमी प्रक्षेपणलाई मध्यनजर गर्दै बिहीबारदेखि नै बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बाढी तथा पहिरोको अवस्था हेरी आवश्यक परे दिउँसोसमेत सवारी आवागमन बन्द गर्न सकिने जनाएको छ। हाललाई असोज १२ गते बिहानसम्म हरेक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।
वर्षा, बाढी तथा पहिरोको अवस्था मूल्याङ्कन गर्दा दिउँसोसमेत सवारी सञ्चालन गर्न जोखिम देखिएमा जिल्ला प्रहरी कार्यालयले आवश्यक निर्णय गर्नेछ।
सवारी आवागमन रोक्ने निर्णय कार्यान्वयनमा सहजीकरणका लागि छिमेकी जिल्ला सिन्धुली र भक्तपुरका प्रहरी युनिटसँग समन्वय गर्ने निर्णयसमेत भएको छ।
बैठकले नदी किनार तथा पहिरोको उच्च जोखिममा रहेका बस्तीका नागरिकलाई सम्भावित जोखिमबारे सचेत गराउने, जोखिमसम्बन्धी सूचना निरन्तर प्रवाह गर्ने र स्थानीय सञ्चारमाध्यममार्फत जानकारी सम्प्रेषण गर्ने निर्णय गरेको छ।
प्रहरीले बीपी राजमार्गको अवस्था बुझेर मात्रै दिउँसोको समयमा यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।