काठमाडौं । धादिङको कृष्णभिरमा ढुंगासहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति पहिरो खसेपछि राजमार्गमा सवारीसाधन सञ्चालन हुन नसकेको हो ।
वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि रातभर पृथ्वी राजमार्ग बन्द गरिएको थियो । आज बिहान ५ बजेदेखि सवारीसाधन सञ्चालन गर्ने तयारी भए पनि कृष्णभिरमा पहिरो खसेपछि यातायात पुनः प्रभावित भएको हो ।
धादिङ प्रहरीले पहिरो पन्छाउने काम भइरहेको जनाएको छ । तर, निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन कठिनाइ भइरहेको प्रहरीले बताएको छ ।
गत भदौ १४ गते कृष्णभिर क्षेत्रमा सडक भासिएपछि अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको थियो । अहिले सोही डाइभर्सनमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
यसैबीच पहिरोका कारण कान्ति लोकपथसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि काठमाडौं–हेटौंडा आवागमन प्रभावित भएको छ ।
यस्तै, कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथांका सडकखण्डको भोटखोला क्षेत्रमा पनि पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । वर्षा जारी रहेकाले विभिन्न राजमार्ग तथा सडकखण्डमा थप पहिरोको जोखिम रहेको जनाइएको छ ।