काठमाडौँ । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, बङ्गालको खाडीमा विकसित बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपास केन्द्रित रहेको छ।
महाशाखाका अनुसार उक्त प्रणाली सुरुमा बलियो न्यून चापीय क्षेत्रकै रूपमा उत्तर–पश्चिमतर्फ सर्नेछ। त्यसपछि आगामी १२ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको छ।
हाल कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बदली रहेको छ भने सुदूरपश्चिममा आंशिक बदली छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार दिउँसो देशभर अधिकांश बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका अधिकांश स्थान तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
त्यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका अधिकांश स्थान, कर्णालीका पहाडी भूभागका अधिकांश स्थान तथा मधेस प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका केही स्थानमा पनि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। मधेस प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरी चल्नसक्ने सम्भावना पनि रहेको छ।
राति पनि वर्षा कायमै रहने
आज राति पनि देशभर अधिकांश बदली रहने महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थान तथा कोशी र बागमती प्रदेशका हिमाली भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका अधिकांश स्थान तथा कर्णाली प्रदेशका पहाडी भूभागका अधिकांश स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। कोशी, मधेस र बागमती प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।