काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विश्वव्यापी आपूर्ति प्रणालीमा रहेको असमानतामाथि प्रश्न उठाउँदै हतियार आपूर्तिका लागि विश्वसँग रहेको प्रभावकारी संयन्त्र किसानका लागि मल र इन्धन आपूर्तिमा भने कमजोर रहेको बताएका छन्।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई शुक्रबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले अन्तरमहादेशीय क्षेप्यास्त्रदेखि राइफल तथा गोलाबारुदसम्म तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुर्याउन सक्ने विश्वव्यापी संयन्त्र भए पनि किसानले आवश्यक समयमा बजार मूल्यमा मल र इन्धनसमेत पाउन नसक्ने अवस्था रहेको बताए।
‘हामीले युद्धका लागि त्रुटिरहित रसद प्रणाली र खाद्यान्नका लागि भताभुङ्ग रसद प्रणाली भएको संसार बनाएका छौँ,’ उनले भने।
प्रधानमन्त्री शाहले आफूले तिर्न सक्ने देशले आवश्यक वस्तु किन्न पाउने सुनिश्चितता हुनुपर्नेमा जोड दिए। ७२ घण्टाभित्र संसारको जुनसुकै ठाउँमा हतियार पुर्याउन सक्ने विश्वले किसानलाई मर्यादित जीविकोपार्जनका आधारभूत साधनबाट वञ्चित राख्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ थियो।
उनले विश्वव्यापी आपूर्ति प्रणालीको यो असमानतालाई जलवायु न्याय र विद्यमान आर्थिक व्यवस्थासँग पनि जोडेर व्याख्या गरे। कमजोर तथा विकासशील देशका नागरिकले आफूहरूले सिर्जना नगरेका सङ्कटको भारसमेत बोक्नुपरेको उनले बताए।
जलवायु परिवर्तनबाट नेपालजस्ता देश प्रत्यक्ष प्रभावित भइरहेका बेला कमजोर विश्वव्यापी आपूर्ति शृङ्खलाले गरिब तथा कमजोर समुदायमाथि थप आर्थिक भार सिर्जना गरिरहेको प्रधानमन्त्री शाहको भनाइ थियो।