न्यूयोर्क– प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघको मुख्यालयमा महासचिव गुटेरेससँग भेटवार्ता गरेका हुन्। स्थानीय समयअनुसार साँझ ६ः३० बजे भएको भेट नेपाली समयअनुसार शुक्रबार बिहान ४ः१५ बजे परेको थियो।
भेटका क्रममा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताएका थिए।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार गुटेरेसले नेपाली युवा प्रतिनिधिमण्डलको पनि प्रशंसा गरेका थिए। उनले आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिवको पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भावका लागि गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए। उनले भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै हिमताल फुट्ने जोखिम अझै उच्च रहेको जानकारी गराएका थिए।
भेटमा नदी किनारका बासिन्दाको पुनर्वास, हरित पुनर्निर्माण तथा विपद्पछिको पुनःस्थापनाका विषयमा समेत छलफल भएको थियो। साथै, अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्नका लागि आवश्यक समर्थन जुटाउने विषयमा पनि कुराकानी भएको जनाइएको छ।