नयाँ दिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा उपलब्ध लगानी र व्यापारका अवसरको खोजी गर्दै लगानी विस्तार गर्न आह्वान गरेका छन् । उनले नेपालमा लगानीका लागि अहिले उपयुक्त समय रहेको बताएका छन् ।
नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) ले आयोजना गरेको व्यापार तथा लगानीसम्बन्धी अन्तरक्रियालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा रहेका उदीयमान लगानीका अवसरबारे जानकारी गराएका हुन् । उनले नेपालको आर्थिक रूपान्तरणमा सहभागी हुन भारतीय व्यवसायीलाई आमन्त्रण गरे ।
भारतीय उद्योगी, व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा उनले उच्च आर्थिक वृद्धिको सम्भावना भएका विभिन्न क्षेत्रमा नेपालले लगानीका पर्याप्त अवसर उपलब्ध गराउने बताए । नेपालमा यसअघि नै सञ्चालनमा रहेका भारतीय कम्पनीलाई लगानी विस्तार गर्न तथा नयाँ लगानीकर्तालाई नेपाली बजारको सम्भावना पहिचान गर्न उनले आग्रह गरे ।
अर्थमन्त्री वाग्लेले नेपाल सरकार सुशासन, आर्थिक समृद्धि, लगानी सहजीकरण र संरचनात्मक आर्थिक रूपान्तरणको एजेन्डासहित अघि बढिरहेको जानकारी दिए । लगानीकर्ताका लागि थप अनुमानयोग्य, पारदर्शी र लगानीमैत्री व्यावसायिक वातावरण निर्माण गर्न सरकारले नीतिगत सुधारलाई तीव्रता दिइरहेको पनि उनले उल्लेख गरे ।
उनका अनुसार डिजिटलाइजेसन, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, वेलनेस पर्यटन तथा उत्पादन साझेदारीमा आधारित उत्पादन क्षेत्र नेपालको अर्थतन्त्रका महत्वपूर्ण सम्भावनायुक्त क्षेत्रका रूपमा विकसित भइरहेका छन् ।
“भारतीय व्यवसायीहरूलाई नेपाललाई बजारका रूपमा मात्र नभई लगानी, उत्पादन, मूल्य अभिवृद्धि तथा क्षेत्रीय र विश्वव्यापी आपूर्ति शृङ्खलामा एकीकृत हुने रणनीतिक साझेदारका रूपमा हेर्न चाहन्छौँ,” मन्त्री वाग्लेले भने ।
उनले वार्षिक बजेट, कर सुधार तथा लगानीकर्तामैत्री नीतिगत पहलमार्फत सरकारले व्यावसायिक वातावरण सुधार गर्न, लगानीका अवरोध हटाउन र निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धिलाई सहज बनाउन विभिन्न कदम चालेको स्पष्ट पारे ।
अर्थमन्त्री वाग्लेले उत्पादन, ऊर्जा, पर्यटन, कृषि, डिजिटल अर्थतन्त्रलगायतका उदीयमान क्षेत्रमा नेपाल र भारतबीच आर्थिक साझेदारी विस्तारको ठूलो सम्भावना रहेकोमा समेत जोड दिए ।