काठमाडौं । कृष्णभीर क्षेत्रमा सडक अवरुद्ध भएपछि बढेको खाना पकाउने एलपी ग्यासको मूल्य सडक सञ्चालनमा आएसँगै घटेको छ।
बाढीका कारण मुख्य राजमार्ग बन्द भएपछि व्यवसायीहरूले वैकल्पिक सडकमार्फत ग्यास ढुवानी गरेका थिए। लामो दूरीको वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी खर्च बढेपछि ग्यासको मूल्यसमेत बढाइएको थियो। अहिले कृष्णभीरमा सडक पुनः सञ्चालनमा आएपछि ग्यासको ढुवानी सहज भएको हो।
नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार नेपाल आयल निगमले काठमाडौंका लागि पिएडओ (प्रोडक्ट डेलिभरी अर्डर) जारी गरेसँगै ग्यासको मूल्य पुरानै अवस्थामा फर्किएको हो।
उनका अनुसार मुख्य सडक बन्द हुँदा वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्दा प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा अतिरिक्त भाडा समायोजन गरिएको थियो। सडक खुलेपछि उक्त अतिरिक्त ढुवानी खर्च हटाइएको छ।
अब उपभोक्ताले एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ मै खरिद गर्न पाउनेछन्।
नेपालमा ग्यास वितरणका लागि देशलाई तीन क्षेत्रमा विभाजन गरिएको छ। यसअघि तराई क्षेत्रका लागि जारी भएको पिएडओमार्फत ग्यास आपूर्ति भइरहेको थियो। सडक सञ्चालनमा आएसँगै काठमाडौं र धादिङका लागि समेत पिएडओ जारी गरिएको छ।
नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले काठमाडौं उपत्यकाका लागि ग्यास ल्याउन पिएडओ जारी भइसकेको जानकारी दिए। उनका अनुसार पिएडओ जारी भएसँगै अब उपभोक्ताले पुरानै मूल्यमा एलपी ग्यास पाउनेछन्।