भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा)लाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ। ऐतिहासिक तथा प्राकृतिक सम्पदाको संरक्षण गर्दै पर्यटक आकर्षित गर्ने उद्देश्यले आवश्यक संरचना निर्माण भइरहेको हो।
पर्यटकको सहजताका लागि रेलिङसहितको पदमार्ग, विश्रामस्थललगायत पूर्वाधार निर्माण गरिएको वडाध्यक्ष बोमप्रसाद राईले जानकारी दिए।
गाउँपालिका अध्यक्ष किरण राईका अनुसार स्थानीयस्तरमा रहेका ऐतिहासिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटनसँग जोड्ने नीति गाउँपालिकाले लिएको छ। ऐतिहासिक महत्त्व बोकेको दुङमागढीलाई गाउँपालिकाको पहिचानका रूपमा विकास गर्ने योजना रहेको उनले बताए।
“दुङमागढी एउटा ऐतिहासिक स्थल हो,” अध्यक्ष राईले भने, “यो हाम्रो गाउँपालिकाको पहिचान पनि हो। यसको संरक्षणसँगै पर्यटनसँग जोड्ने लक्ष्य स्थानीय सरकारले लिएको छ।”
गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले पर्यटकीय सम्भावना बोकेका क्षेत्रको पहिचान गरी आवश्यक पूर्वाधार निर्माणमा गाउँपालिका प्रतिबद्ध रहेको बताइन्। दुङमागढीको पर्यटकीय सम्भावनालाई मध्यनजर गर्दै प्रचारप्रसारमा समेत जोड दिइएको उनले जानकारी दिइन्।
“दुङमागढीमा पर्यटकको आगमन बढाउन सकिए स्थानीयस्तरमा रोजगारी सिर्जनाका साथै गाउँको आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने देखिन्छ,” उनले भनिन्, “यस क्षेत्रको विकासका लागि न्यूनतम पूर्वाधार निर्माणसँगै प्रचारप्रसारलाई पनि तीव्रता दिएका छौँ।”
प्राकृतिक सौन्दर्यले भरिपूर्ण दुङमागढी क्षेत्रमा पछिल्लो समय वनभोज तथा मनोरम दृश्यावलोकनका लागि पुग्ने मानिसको संख्या बढ्दै गएको स्थानीय बताउँछन्।
दुङमागढीबाट देखिने आकर्षक हिमशृङ्खला, वरपरका हरियाली डाँडाकाँडा र समथर फाँटले आगन्तुकलाई आकर्षित गर्ने गरेको छ। पछिल्लो समय पूर्वाधार निर्माणसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमनसमेत बढ्न थालेको स्थानीयको भनाइ छ।