काठमाडौं। पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको कारोबार चार गुणा बढेको र औषधि उत्पादन विस्तारको सरकारको योजनाप्रति खुसी व्यक्त गर्दै आफूले अघि सारेका नीति तथा योजनाकै निरन्तरतामा संस्थाले गति लिएको बताएका छन्। उनले वैद्यखानाले १०५ बाट १५० प्रकारका औषधि उत्पादन गर्ने र ३५ निःशुल्क औषधिमा आत्मनिर्भर बन्ने प्रधानमन्त्रीको अठोटप्रति आभारसमेत व्यक्त गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत पौडेलले आफ्नो कार्यकालमा राष्ट्रिय आयुर्वेद रणनीति र वैद्यखानाको पाँचवर्षे रणनीतिक योजना लागू गरिएको उल्लेख गरेका छन्। नसर्ने रोग ३० प्रतिशतले घटाउने लक्ष्यसहित १० वर्षे राष्ट्रिय आयुर्वेद रणनीति ल्याइएको र ३७० वर्ष पुरानो वैद्यखानालाई पुनर्जीवन दिन पाँचवर्षे रणनीतिक योजना अघि सारिएको उनको भनाइ छ।
पौडेलले आफ्नो कार्यकालमा पञ्चकर्म तथा योग केन्द्र सञ्चालन, ‘स्वर्ण बिन्दु प्राशन’ अभियान, सबै पालिकामा ‘नागरिक आरोग्य कार्यक्रम’ विस्तार तथा आयुर्वेद सेवाका लागि बजेट वृद्धि गरिएको उल्लेख गरेका छन्। त्यस्तै, औषधि उत्पादन र निर्यात प्रवर्द्धनका लागि जीएमपी नीति, औषधि अनुसन्धान तथा विकास इकाइ, वनस्पति प्राधिकरण र आयुर्वेद अध्ययन प्रतिष्ठान स्थापना प्रक्रिया अघि बढाइएको बताएका छन्।
सरकारलाई उनले वैद्यखानाको पाँचवर्षे रणनीतिक योजना निरन्तर कार्यान्वयन गर्न, औषधि अनुसन्धानमा विशेष लगानी गर्न, ३५ निःशुल्क औषधिलाई नागरिक आरोग्य केन्द्रमार्फत घरदैलोमा पुर्याउन र जीएमपी मापदण्ड पूरा भएपछि नेपाली औषधिको निर्यातका लागि कूटनीतिक पहल बढाउन सुझाव दिएका छन्। जडीबुटी खेती र कच्चा पदार्थ व्यवस्थापनमा विशेष प्रोत्साहन तथा आयुर्वेदका विशिष्टीकृत सेवा र औषधिलाई स्वास्थ्य बीमामा आबद्ध गर्न पनि उनले आग्रह गरेका छन्।
“असल नीतिको निरन्तरताले मात्र समृद्ध राष्ट्र बन्छ,” पौडेलले भनेका छन्, “सरकारका सकारात्मक कदममा मेरो सदैव साथ रहनेछ।”