पोखरा । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रण अभियानलाई तीव्रता दिएको जनाएको छ । महानगर प्रमुख धनराज आचार्यले सार्वजनिक जग्गा मिच्ने कार्य कुनै पनि बहानामा स्वीकार्य नहुने भन्दै अतिक्रमण हटाउने अभियान निरन्तर जारी रहने बताए ।
महानगरले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी नागरिकहरूले पोखरा बसपार्क, फिर्के खोला र अमरसिंह चोकलगायत क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाउने कार्यको प्रशंसा गर्दै अभियानलाई समर्थन गरेका थिए । उनीहरूले बसपार्कका लागि अधिग्रहण गरिएको १८७ रोपनी जग्गामै बसपार्क निर्माण गर्न र फिर्के खोलाको सीमा यकिन भइसकेकाले ‘फिर्के कोरिडोर’ निर्माण तत्काल सुरु गर्न सुझाव दिए । महानगरले हालै ती क्षेत्रमा डोजर प्रयोग गरी अवैध संरचना हटाएको थियो ।
प्रमुख आचार्यका अनुसार महानगरभित्र रहेका सार्वजनिक जग्गाको एकीकृत लगत संकलन भइरहेको छ । केही समयभित्रै त्यसको विवरण सार्वजनिक गरिने र प्रारम्भिक अनुमानअनुसार वन क्षेत्रसहित झन्डै ८१ हजार रोपनी सार्वजनिक जग्गा रहेको उनले बताए । यकिन लगत तयार भएपछि अतिक्रमण भएको पाइए तत्काल खाली गर्न सूचित गरिने र अटेर गरे कानुनी प्रक्रियाअनुसार महानगर आफैंले अतिक्रमण हटाउने उनले बताए ।
महानगरले ३३ वटै वडामा खेलमैदान र उद्यान निर्माण गर्ने योजना अघि सारेको जनाएको छ । बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासीको उचित व्यवस्थापनपछि मात्रै व्यवस्थित बसपार्क निर्माणको काम सुरु हुने आचार्यले बताए ।
पोखरा–१ स्थित टुँडीखेलको जग्गा यकिन गर्ने काम पनि छिट्टै सुरु गरिने महानगरले जनाएको छ । सडक, राजकुलो, चौर तथा अन्य सार्वजनिक स्थल अतिक्रमण गर्नु कानुनविपरीत हुने भन्दै त्यस्ता स्थानमा निजी संरचना निर्माण वा व्यवसाय सञ्चालन गरेको भए आफैं खाली गर्न महानगरले आह्वान गरेको छ । सार्वजनिक सुनुवाइमा स्थानीयले महानगरको सेवा प्रवाह र विकास निर्माणका विविध पक्षबारे पनि जिज्ञासा राखेका थिए ।