नेपालगन्ज, बैशाख ८ । नेपालगन्ज मेडिकल कलेजमा कोरोनाको आशंकामा आइसोलेसनमा उपचाररत बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर १० का ४२ बर्षीय इसराइल बेहानाको मृत्यु कोरोनाको कारण नभएको पुष्टि भएको छ ।
भेरी अस्पतालमा पिसिआर विधिबाट गरिएको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि बेहनाको मृत्यु कोरोनाबाट नभएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । दमका विरामी बेहनाको अस्ति विहान मृत्यु भएको थियो ।
त्यस्तै श्रीमतीले चिर्पटले हान्दा घाइते भएर नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएका प्युठान घर भई दाङ बस्दै आएका गुमानसिंह अधिकारीको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
उहाँ केही समय अघि मात्र भारतबाट आएकाले कोरोना परिक्षण गरिएको हो ।भेरी अस्पतालको पिसिआर मेसिनबाट परिक्षण गरिएका अन्य ७ जनाको रिपोर्ट पनि नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाश बहादुर थापाले जानकारी दिनुभयो । भेरी अस्पतालमा हिजोदेखि कोरोना परिक्षण सुरु भएको हो ।