तनहुँ । यहाँस्थित व्यास नगरपालिका-१० दुम्सीबजारमा १५ शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण सम्पन्न भएको छ ।
व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले भवनको बुधबार शुभारम्भ गर्दै नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएर आवश्यक जनशक्ति र उपकरणसहित व्यवस्थापनमा ध्यान दिएको बताए ।
व्यास नगरपालिकाका योजना शाखा प्रमुख डा. राजु पौडेलले अस्पताल भवन रु ९६ लाख ३८ हजारको लागतमा निर्माण सम्पन्न भएको र उपकरणसहित हाल कूल रु दुई करोड ६६ लाख लागत पुगेको जानकारी दिए।
अस्पतालका प्रमुख मेडिकल अधिकृत डा. नविना न्यौपानेले स्थानीयस्तरमै सेवा विस्तार हुनुले बिरामीलाई बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिएको बताइन् ।