काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछिको खोज तथा उद्धार कार्यको प्रभावकारिता र त्यसमा भएको खर्चको विवरण अध्ययन गर्न माग गरेका छन् ।
मंगलबार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा सांसदहरूले समितिको कार्यक्षेत्र विस्तार गरी बूढीगण्डकी नदीमा आएको बाढी र जोखिममा रहेका हिमतालको अवस्थासमेत अध्ययन गर्नुपर्ने बताएका हुन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद घनश्याम रिजालले बूढीगण्डकी र भोटेकोशीमा आएका बाढीको प्रकृति समान रहेको उल्लेख गर्दै बूढीगण्डकीको घटनालाई पनि समितिको अध्ययनमा समेट्नुपर्ने बताए । जोखिममा रहेका हिमतालको स्थलगत अनुगमन सम्भव नभए विषयविज्ञसँग छलफल गरेर तिनको अवस्थाबारे जानकारी लिनुपर्ने उनको भनाइ थियो ।
भोटेकोशी बाढीपछि उद्धार गरिएका पर्यटकका सवारीसाधन र व्यक्तिगत सामग्री फिर्ता हुन नसकेको गुनासोबारे पनि अध्ययन गरी सरकारलाई सुझाव दिनुपर्ने रिजालले बताए ।
नेकपा (एमाले) का सांसद सोमनाथ पोर्तेलले खोज तथा उद्धारमा खर्च भएको रकम र उद्धार गरिएका व्यक्तिको तथ्यांक अध्ययन गर्नुपर्नेमा जोड दिए । गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट कति जनालाई, कहाँबाट र कुन माध्यमबाट उद्धार गरिएको थियो भन्ने विवरण लिएर अध्ययन गर्नुपर्ने उनले बताए ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिकले गरेको योगदान वास्तविक पीडितको राहतका लागि भएकाले उद्धार खर्चको पारदर्शिता र सम्भावित दुरुपयोगबारे समेत समितिले ध्यान दिनुपर्ने पोर्तेलको भनाइ थियो ।
नेकपाका सांसद श्रीकृष्णप्रसाद अधिकारीले समितिको कार्ययोजनामा प्रयोग भएका शब्दावली र भाषामा परिमार्जन गर्न सुझाव दिए । उनले खोज तथा उद्धार, मनोसामाजिक परामर्श, शवको खोजी, डीएनए परीक्षण, राहत तथा क्षतिपूर्ति, जीविकोपार्जन, पुनर्वास र पुनःस्थापनालाई समितिको प्राथमिकतामा राख्नुपर्ने बताए ।
बैठकमा सहभागी अधिकांश सांसदले कालीगण्डकी नदीमा आएको बाढीबाट उत्पन्न विपद्लाई समेत समितिको अध्ययन तथा अनुगमनको कार्यक्षेत्रमा समेट्न माग गरेका थिए ।