काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले नेपालमै पहिलो पटक ‘अर्बिटल एथेरेक्टोमी’ प्रविधिमार्फत जटिल रूपमा अवरुद्ध रक्तनलीको बिना चिरफार उपचार गरेको जनाएको छ । कलेजका अनुसार खुट्टाको रक्तनली पूर्ण रूपमा बन्द भएर अङ्ग गुमाउनुपर्ने जोखिममा रहेका पोखराकी ७१ वर्षीया हीरामाया राम्जाली र जनकपुरका ४७ वर्षीय कल्याणलाल कर्णको यो प्रविधिबाट सफल उपचार गरिएको हो । कर्णको एउटा खुट्टा यसअघि नै काटिएको थियो भने अर्को खुट्टाको रक्तनली पनि पूर्ण रूपमा बन्द भएको थियो ।
केएमसीको मुटु, छाती तथा रक्तनली शल्यक्रिया (सीटीभीएस) विभागका डा. कृष्ण बस्यालका अनुसार रक्तनलीभित्र जमेको कडा क्याल्सियमका कारण भएको अवरोध सामान्य विधिबाट हटाउन सम्भव नभएपछि ‘अर्बिटल इन्डोभास्कुलर एथेरेक्टोमी’ प्रविधि प्रयोग गरिएको हो । नेपालमा यो प्रविधि पहिलो पटक प्रयोग भएको बताउँदै उनले चिरफार गरिएको भए दुवै बिरामीले खुट्टा गुमाउन सक्ने जोखिम रहेको र अहिले उनीहरूको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको बताए ।
सफल उपचारपछि हीरामायाका नाति विशाल राम्जालीले अन्य अस्पतालमा खुट्टा काट्नुपर्ने सम्भावना रहेको बताइएकाले परिवार त्रसित बने पनि केएमसीमा उपचारपछि खुट्टा जोगिएको र बिरामी आफैं हिँड्न सक्ने अवस्थामा पुगेको बताए ।
केएमसीका अनुसार यो उपचारसँगै जटिल रक्तनलीसम्बन्धी रोगको उपचारमा नयाँ प्रविधिको प्रयोग सुरु भएको छ ।