काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रमेश मल्लले स्वास्थ्य बीमा कार्यक्रम यथास्थितिमा सञ्चालन गर्न नसकिने भन्ने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै मल्लले निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने प्रतिबद्धतासहित बनेको सरकारले स्वास्थ्य बीमा कार्यक्रमसमेत सञ्चालन गर्न नसकिने भन्नु दुःखद भएको बताए। उनले सल्यान जिल्ला अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम पूर्ण रूपमा बन्द रहेको उल्लेख गर्दै त्यसलाई तत्काल पुनः सञ्चालन गर्न सरकारसँग माग गरे।
मल्लले कर्णाली प्रदेशमा विशेषज्ञ चिकित्सकको अभावका कारण स्वास्थ्य सेवा प्रभावित भइरहेको भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए। सल्यान जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा बिरामीले सामान्य उपचारसमेत नपाएर घर फर्किनुपर्ने अवस्था रहेको उनको भनाइ थियो।
स्वास्थ्य मन्त्रालयलाई पटक–पटक आग्रह गर्दा पनि कर्णालीमा चिकित्सक पठाउने विषयमा कुनै सुनुवाइ नभएको भन्दै उनले सरकारको भूमिकामाथि प्रश्न उठाए। “कर्णालीको स्वास्थ्य उपचारका विषयमा सरकार किन यति धेरै गैरजिम्मेवार भइरहेको छ ? जिल्ला अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम पूर्ण रूपमा बन्द छ। यस्तो अवस्थामा अर्थमन्त्रीले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न नसकिने भन्दै हिँड्नु झन् आपत्तिजनक हो,” उनले भने।
मल्लले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर नदेखिएको पनि आरोप लगाए।