दाङ। दाङ जिल्लाको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक मुटु रक्तनली सम्बन्धी एन्जियोप्लाष्टी सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। यससँगै जिल्लामै जटिल मुटु उपचार सेवा उपलब्ध हुने नयाँ चरण प्रारम्भ भएको छ।
शुक्रबार सम्पन्न पहिलो चरणको उपचारमा दुई जना बिरामीको एन्जियोप्लाष्टी गरिएको प्रतिष्ठानले जनाएको छ। उक्त प्रक्रिया मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटाको नेतृत्वमा, प्रतिष्ठानका फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. दिनेश उप्रेतीसहितको चिकित्सकीय टोलीले सम्पन्न गरेको हो।
विशेषज्ञ डा. देवकोटाका अनुसार मुटुमा रक्त प्रवाह अवरुद्ध भई हुने हृदयाघातका बिरामीलाई अब जिल्ला बाहिर नपठाईकनै तत्काल उपचार गर्न सकिने अवस्था बनेको छ। उनले दाङमै मुटु रक्तनलीको हस्तक्षेपात्मक उपचार सेवा सुरु हुनु क्षेत्रीय स्वास्थ्य सेवाका दृष्टिले महत्वपूर्ण उपलब्धि भएको बताए।
उपचारपछि दुवै बिरामीको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सक टोलीले जानकारी दिएको छ।
प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिष्ट्रार प्रा। श्याम लम्सालका अनुसार यसअघि मुटुसम्बन्धी जटिल उपचारका लागि बिरामीहरूलाई अन्य जिल्ला वा केन्द्रमा रेफर गर्नुपर्ने बाध्यता थियो, तर नयाँ सेवासँगै उक्त समस्या अन्त्य हुने अपेक्षा गरिएको छ।
सेवा सञ्चालनका लागि क्याथ ल्याब सहित करिब १० करोड रुपैयाँ बराबरका उपकरण तथा पूर्वाधार व्यवस्थापन गरिएको प्रतिष्ठानले जनाएको छ।
यसअघि केही दिनअघि मात्र निदानात्मक सेवा अन्तर्गत एन्जियोग्राफी सेवा सुरु गरिएको थियो भने हाल उपचारात्मक प्रक्रिया अन्तर्गत एन्जियोप्लाष्टी सेवा सुरु गरिएको हो।
प्रतिष्ठानका निमित्त निर्देशक प्रा. डा. जनार्दन पन्थीका अनुसार यस सेवाले जिल्ला बाहिरका बिरामीलाई पनि सहज रूपमा उपचार उपलब्ध गराउन मद्दत पुग्नेछ।
त्यस्तै, प्रतिष्ठानका निमित्त डिन प्रा. डा. रमेश कँडेलले विपन्न नागरिक औषधोपचार कोषमा सूचीकृत गर्न पहल अघि बढाइएको जानकारी दिँदै सूचीकृत भएपछि आर्थिक रूपमा कमजोर बिरामीलाई थप सहुलियत प्राप्त हुने बताए।
प्रतिष्ठानमा यसअघि नै मुटु परीक्षणका लागि इको सेवा सञ्चालनमा आइसकेको छ।