
झापा । मेचीनगर नगरपालिकाको घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण देखा परेको छ । मेचीनगरको वडा नं २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं ६ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को सङ्क्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए ।
“लम्पी स्किन र स्वाइन फ्लूको सङ्क्रमण पुष्टि भयो”, उनले भने, “नगरको पशु सेवा शाखाबाट सङ्क्रमण नियन्त्रण र रोकथामका लागि आवश्यक परीक्षण, उपचार र सतर्कताका सात जना प्राविधिक कर्मचारी परिचालन गरिरहेका छौँ । कोशी प्रदेश र संघीय सरकारका निकायमा समेत आवश्यक सहयोग र समन्वयका लागि अनुरोध गरिसकेका छौँ ।”
‘लम्पी स्किन’ले थप जोखिम नहोस् भन्नाका लागि सङ्क्रमण फेला परेको गोठको पाँच सय मिटर आसपासका किसानले पालेका डेढ सयभन्दा बढी गाई वस्तुमा पशु प्राविधिक टोलीले ‘रिङ भ्याक्सिन’ लगाउने गरेको छ । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना अरुचि हुने र दूध कम दिने लक्षण देखा परेको राईले बताए । यो रोग सङ्क्रामक भाइरसबाट फैलिने गर्दछ ।
यसैगरी मेचीनगर वडा नं ६ स्थित बबिता बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’का कारण ८० बङ्गुर मरेका छन् । पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणबाट मरेका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फ्लू’ पुष्टि भएको पशु सेवा शाखाका प्रमुख विक्रम गुरुङले बताए।
“फार्ममा अचानक बङ्गुर मरेको खबर आएपछि त्यसको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो”, उनले भने, “प्रयोगशालाबाट आएको रिपोर्टमा ‘अफ्रिकन स्वाइन फ्लू’ पुष्टि भयो ।” फार्मकी सञ्चालक बबिता गहतराजले जेठभरिमा ८० वटा बङ्गुर भकाभक मर्दा ठूलो क्षति भएको बताए । नगरपालिकाको पशु सेवा शाखा प्रमुख गुरुङसहितको प्राविधिक टोलीले प्रभावित बङ्गुर फार्म र आसपासका क्षेत्रका रोग फैलिन नदिन औषधोपचार र सचेतनाका कार्यहरू गरिरहेको छ ।