
बागलुङ – नेपालका २२ ठूला परम्परागत खानीमध्ये एक हो, जैमिनी नगरपालिका–१० राङ्खानी। यहाँ तामाको धाउ निकालिएका दर्जनौँ सुरुङ छन्। तर, उत्खनन नहुँदा र संरक्षणको अभावमा केही सुरुङ पुरिएका छन् भने पहिरोले क्षति पुर्याएको छ।
तामा निकाल्ने क्रममा धेरैले ज्यान गुमाएका थिए। तर, पछिल्लो समय यस्तो देखिएको छैन। जैमिनी–१० राङ्खानीका ९५ वर्षीय बमबहादुर श्रीसले घरनजिकको पाखोबाट आफ्ना बाबुबाजेले तामाको धाउ निकालेको बताए। ‘बाजेले तामाको धाउ बेचेर जीविका चलाउनुहुन्थ्यो, पछि कर बढी भएपछि खानी बन्द भयो,’ उनले भने, ‘पाखैभरि तामा खनेका डोब छन्। चारदेखि ५० मिटरसम्मका सुरुङ अझै छन्। हामीले सुरुङमा हिँडेका छौँ। तर, कतिपय सुरुङ मेटिन थालेका छन्, पहिरोले पुरिएका छन्। सरकारले उत्खननमा ध्यान दिनुपर्छ।’
स्थानीयले आफ्नै सीप र प्रविधिबाट सानो मात्रामा तामा निकाल्थे। आधुनिक प्रविधिले ठूलो मात्रामा तामा निकाल्न सकिने स्थानीय लालबहादुर पुनले बताए। अन्य जिल्लाका मजदुरसमेत यहाँ काम गर्न आउने भएकाले ठूलो मात्रामा तामा रहेको अनुमान छ।
खानी सञ्चालन र उत्खननको अधिकार स्थानीय सरकारसँग नभएकाले सङ्घीय सरकारले पहल गर्नुपर्ने वडाध्यक्ष श्रीप्रसाद थापाले बताए। जैमिनी नगरपालिकाले दमेक र राङ्खानी क्षेत्रमा खानीको सम्भाव्यता अध्ययन गरिरहेको उनले जानकारी दिए। तामाको धाउलाई स्थानीय भाषामा राङ भनिन्छ। त्यसैले तत्कालीन राजा रजौटाले यो ठाउँको नाम राङ्खानी राखेको भनाइ छ। तमानखोला गाउँपालिका, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाभित्रका खानीको सम्भाव्यता अध्ययनका लागि खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त भए पनि ठोस तथ्याङ्क आएको छैन।
बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र तमानखोला गाउँपालिकाका विभिन्न ठाउँमा तामाखानी छन्। धातुजन्य खानीसँगै जिल्लामा ढुङ्गाखानी पनि प्रशस्त छन्। ढुङ्गाखानी केही ठाउँमा उत्खनन भए पनि फलाम र तामाखानी अझै उत्खनन हुन सकेका छैनन्।