
काठमाडौँ – भारत-पाकिस्तानबीच तनाव बढेसँगै राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार सिंहदरबारमा केही समयअघि परिषद्को बैठक सुरु भएको हो ।
बैठकमा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल र परिषद्का सदस्य सचिव रामेश्वर दंगाललगायत सहभागी रहेका छन् ।
भारतले पाकिस्तान नियन्त्रित क्षेत्र कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै गरिएको आक्रमणपछि दुई छिमेकी देशबीच तनाव उत्कर्षमा पुगेको हो ।
गत २२ अप्रिलमा कश्मीरको पहलगाम आक्रमणमा एक नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएपछि शुरु भएको तनाव अब युद्धमा परिणत भएको छ ।
भारतले गएरातीदेखि शुरु गरेको हवाई आक्रमणमा पाकिस्तानमा २६ जनाको मृत्यु भएको र ४६ घाइते भएको छ । त्यस्तै सीमापारिबाट भएको आक्रमणमा १० भारतीय नागरिकको मृत्यु भएको ३२ जना घाइते भएको भारतले जनाएको छ । मंगलबार रातिदेखि भारत र पाकिस्तानबीच तनाव चर्किएसँगै नेपालमा सशस्त्र प्रहरी बल नेपाल(एपीएफ) ले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।