
काठमाडौँ, ११ चैत । नेपाल विद्युत् प्राधिकरणका पूर्व सहायक प्रबन्धक ध्रुव कुमार उप्रेती भष्ट्रचार मुद्दामा जेल चलान भएका छन् । गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा उप्रेतीलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो ।
गत मंसिर १२ गतेको सर्वोच्चको फैसलाले उनलाई दुई करोड ५५ लाख १६ हजार ४ सय ८३ रुपैयाँ जरिवाना र ६ महिना कैद ठहर गरेको थियो ।
त्यसयता फरार रहेका उनलाई हिजो (आइतबार) काठमाडौँ महानगरपालिका-१६ स्थित वनस्थलीबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको सिआईबी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सुधीर राज शाहीले बताए ।
उप्रेतीलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो ।
उनलाई आजै डिल्लीबजार कारागार चलान गरिएको एसपी शाहीले बताएका छन् ।