
काठमाडौं, ८ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ घर भई काठमाडौं बुढानीलकण्ठ नगरपालिका-९ बस्ने ५१ वर्षीय प्रकाश बहादुर सिंहलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
सिंहले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ७० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई बुढानीलकण्ठ नगरपालिका-६ सरस्वती कोलोनीबाट पक्राउ गरेको कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताए ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।