
बिर्तामोड (झापा), ३ कात्तिक । बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै निधन भएपछि आक्रोशित स्थानीयवासीले दुर्घटनामा संलग्न बसलाई जलाएका छन् ।
आज दिउँसो १२:३० बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत झापाको कमल गाउँपालिका-५ रबि पेट्रोल पम्प नजिक दमकबाट बिर्तामोड तर्फ जाँदै गरेको प्रदेश न.१-०१-००१ ख ३४३५ नम्बरको कनकाई माई पाथिभरा यात्रुवाहक बसले सोही दिशा तर्फ जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
प्रत्यक्षदर्शीको अनुसार उक्त बसले मोटरसाइकललाई पेट्रोल पम्प अगाडिबाटै लगभग एक सय मिटर घिसारेको थियो।
उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङ केराबारी गाउँपालिका-७ बस्ने अन्दाजी ५५ वर्षको पदम मुकारुम राईको घटना स्थलमै निधन भएको थियो ।
मोटरसाइकल चालकको घटनास्थलमै निधन भएपछि आक्रोशित स्थानीयवासीले बसमा ढुङ्गा, मुडा गर्दै सिसा तोडफोड गरेर आगजनी गरेका हुन् । दमक नगरपालिकाबाट आएको दमकलले बसमा लागेको आगो निभाएको छ ।
दुर्घटना स्थल तनावग्रस्त बनेपछि वैकल्पिक मार्गबाट सवारीसाधन चलिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्णकुमार चन्दले जानकारी दिए।
घटनास्थलमा भिड नियन्त्रणमा लिन सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको बताइएको छ ।
दुर्घटनामा संलग्न बस चालक गौरादह नगरपालिका-१ बस्ने वर्ष ३५ को सञ्जय नेपालीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।