धुलिखेल, २५ असोज । बीपी राजमार्गमा आज बिहान सुख्खा पहिरो खस्दा दुईवटा सवारीसाधनमा क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान ०३:०० बजे रोशी-११ पिप्लेमा माथिबाट सुख्खा पहिरो खस्दा एक बस र एउटा सुमोमा क्षति पुगेको हो ।
सिन्धुलीबाट काठमाण्डौंतर्फ आउँदै गरेको बा. ४ ख. ४३५२ नम्बरको बसलाई सुख्खा पहिरोले २० मिटरसम्म बगाएको छ भने खोटाङबाट काठमाण्डौंतर्फ आउँदै गरेको ना. १ ज. ६८१७ नम्बरको सुमोलाई सोही स्थानमा माथिबाट आएको सुख्खा पहिरोले पुरेको छ ।
प्रहरीका अनुसार सुमोको पछाडीको भाग मात्र देखिएको अबस्थामा रहेको छ ।
पहिरोमा परेर कुनै मानबिय क्षती नभएको प्रहरीले जनाएको छ ।
बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध तेमाल हुदै मंगलटार जाने कच्चि सडक खण्ड र रोशी गाउँपालिका-११ पिप्लेमा पुन: सुख्खा पहिरो झरीरहेकोले तत्काल दुईतर्फि सडक अवरोध भएकोले यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ ।
सुख्खा पहिरो खसेको ठाउँमा सडक बिभागसँग समन्वय गरी बाटो खुलाउने पहल भईरहेको बताइएको छ ।