काठमाडौँ, १६ असोज । काठमाडौँबाट पूर्वी तराईलाई जोड्ने छोटो दूरीको बाटो बिपी राजमार्गको काभ्रे जिल्लामा पर्ने २६ किलोमिटर दूरीमा १४ स्थानमा दुईतर्फी अवरोध रहेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले बुधवार साँझ सार्वजनिक गरेको विवरणअनुसार केही दिन अघि परेको अविरल वर्षाका कारण चौकी डाँडा देखि काभ्रे सिन्धुली सिमाना नेपाल थोक सम्मको २६ किलोमिटर दुरीमा १४ स्थानमा अवरोध रहेको छ ।
बि.पी.राजमार्ग धुलिखेल भकुण्डेचोक देखि नेपाल थोक सम्मको ५५ किलोमिटर दुरीमध्ये भकुण्डेचोक देखि नमोबुद्ध-६ चौकीडँडा सम्म २९ किलोमिटरसम्म एकतर्फी रूपमा सडक सञ्चालन भइरहेको छ ।
अवरोध रहेको सडक खण्डमा कूल सोह्र सय मिटर बाटो कटान भएको छ भने एक हजार ११० मिटर बाटो पुरिएको छ ।
बाटो पुरिएका स्थानमध्ये हाल दुई स्थानमा स्काइभेटर लगाएर माटो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) मिन बहादुर घलेले केटिएम दैनिकलाई बताए ।
डिएसपी घलेका अनुसार काभ्रे रोशी गाउँपालिका-७ लासकोटमा खोलाले ५० मिटर बाटो कटान गरेको छ, घुमाउने भन्ने स्थानमा १५० मिटर, चौकीडाँडामा १५० मिटर, गिम्दीमा २५० मिटर, खार्पाचोकमा २५० मिटर, चिउरीबासमा २०० मिटर, कालढुङ्गामा ३०० मिटर, बर्खेखोलामा ३०० मिटर र माम्दीमा ५० मिटर बाटो खोलाले कटान गरेको छ ।
त्यस्तैगरी चारसयबेसीमा १०० मिटर बाटो पुरिएको छ भने, नार्केमा ३०० मिटर, दाउन्नेमा १० मिटर, पिप्लेमा २०० मिटर, डालाबेशीमा ४०० मिटर र माम्दीमा १०० मिटर बाटो पुरिएको छ ।
कालढुङ्गामा र चारसयबेसीमा एक/एक वटा स्काइभेटरले अहिले काम गरिरहेको डिएसपी घलेले जानकारी दिए ।