काठमाडौँ, १६ असोज । दुई दिन परेको अविरल वर्षाका कारण काभ्रे जिल्लामा ज्यान गुमाउनेको सङ्ख्या हालसम्म ६७ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले बुधबार बिहान सार्वजनिक गरेको विवरणअनुसार हालसम्म एक विदेशी नागरिकसहित ६७ जनाको निधन भएको हो भने पहिरो, बाढी र डुबान लगायतका विपद्मा परेर अझै आठ व्यक्तिहरू बेपत्ता छन् ।
मृतकमध्ये ६६ जनाको कानुनी प्रक्रिया पुरा गरेर अन्तिम संस्कारको लागि परिवारको जिम्मा लगाइएको छ ।
विपद्का कारण घाइते हुनेको सङ्ख्या ७१ पुगेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ५० जनालाई डिस्चार्ज गरिएको छ भने २१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
असोज १३, १४ र १५ गते नेपाली सेना र निजी हेलिकप्टरबाट ७४५ व्यक्तिको उद्धार गरिएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाका अनुसार नेपाली सेनाको हेलिकप्टरले १३ गते १४२ जना, १४ गते ३७६ जना १५ गते १२७ गरेर कूल ६४५ जनाको उद्धार गरेको हो ।
अन्य निजी हेलिकप्टरबाट १०० जनाको उद्धार गरिएको काभ्रे प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत अन्य निकायबाट सडक मार्ग हुँदै तीन हजार २९९ जनाको उद्धार गरिएको बताइएको छ ।
काभ्रे जिल्लामा मृतकको संख्या ६७ पुग्यो, आठ व्यक्तिहरू अझै बेपत्ता
समाचार 👉 https://ktmdainik.com/2024/10/3489/
#Ktmdainik #kavre #NepalPolice
Posted by Ktm Dainik on Tuesday, October 1, 2024