
पोखरा, १५ असोज । सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था ठगी कसुरमा थप एक जना प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले गुल्मीको मुसिकोट नगरपालिका ४ स्थायी घर भई हाल ललितपुर-१५, खुमलटार बस्ने वर्ष ३२ की लीला पछाईलाई सोमबार पोखराको गैह्रापाटनबाट पक्राउ गरेर आज सार्वजनिक गरेको हो।
पछाईले सहकारीको सेयर, बचत तथा जगेडालगायत विभिन्न कोषमा हुनुपर्ने रकम हिनामिना एवं अपचलन गरी गितेन्द्रबाबु राईसँग मिलेमतो गरी ३ करोडभन्दा बढी रकम आफ्नो बैङ्क खातामा लगेर चल अचल सम्पत्ति खरिद गर्ने र शेयर कारोबारमा लगानी गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त कुमार शर्माले बताए ।
उनलाई कास्की जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी शर्माले बताए ।
सोही सहकारीको रकम अपचलन मुद्दामा हालै पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रा.लिका संस्थापक/शेयर होल्डर तथा सञ्चालकसमेत रहेका पूर्व डिआईजी छविलाल जोशीमाथि अनुसन्धान भइरहेको छ ।