हेटौँडा, १५ असोज । वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ई भी माइक्रोमा सवार यात्रुको साथबाट प्रहरीले ४९० ग्राम ८८० मिलिग्राम (झन्डै आधा किलो) सुन बरामद गरेको छ ।
हेटौडा-१५ रातोमाटे चेकपोस्टमा हिजो दिउँसो बा.प्र.०३-००१ज ६९६ नम्बरको यात्रुवाहक ई भी माइक्रोलाई चेकजाँच गर्दा उक्त माइक्रोमा सवार भारतीय नागरिकको साथबाट सुन बरामद भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाका अनुसार पहेँलो धातुको बिस्कुट आकारको टुक्रा ४ थान, बिस्कुटको सानो टुक्रा एक थान, सिक्री एक थान गरी जम्मा ४९० ग्राम ८८० मिलिग्राम सुन बरामद गरिएको हो ।
बरामद गरिएको सुनको मूल्य आजको बजार भाउ अनुसार ६७ लाख ३४ हजार पाँच सय ४४ रुपैयाँ पर्दछ ।
बिल विजक विनाको सुन बरामद भएपछि उक्त सुन बोक्ने बिहार राज्य फुलबरिया पूर्वी चम्पारण बरेवा बस्ने वर्ष ३४ को सुजित सर्राफलाई नियन्त्रणमा लिइएको छ ।
प्रहरीका अनुसार सर्राफले उक्त सुन खुट्टाको पैतलाको भागमा कालो टेपले बेरेर लुकाएका थिए ।