काठमाडौँ, १४ असोज । शुक्रवारदेखि परेको अविरल वर्षाका कारण काभ्रे जिल्लामा हालसम्म ६२ जनाको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले सोमबार साँझ सार्वजनिक गरेको विवरणअनुसार जिल्लाका १३ पालिकामध्ये १० पालिकामा मानवीय क्षति भएको हो ।
हालसम्मको विवरणअनुसार पाँचखाल नगरपालिका, खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकामा मानवीय क्षति भएको छैन ।
पनौती नगरपालिमा सबैभन्दा धेरै मानवीय क्षति भएको छ । पनौतीमा १८ जना, तेमाल गाउँपालिकामा नौ जना, मण्डनदेउपुर नगरपालिकामा आठ जना, बेथानचोक गाउँपालिकामा सात जना, रोशी गाउँपालिकामा छ जना, नमोबुद्ध नगरपालिकामा पाँच जना, बनेपा नगरपालिकामा तीन जना, भुम्लु गाउँपालिकामा तीन जना, धुलिखेल नगरपालिकामा दुई जना र चौंरीदेउराली गाउँपालिकामा एक जनाको निधन भएको हो ।
पनौतीमा निधन भएकामध्ये एक जना विदेशी नागरिक रहेको र रोशी गाउँपालिकामा ज्यान गुमाउने चार महिलामध्ये एक महिलाको घर रामेछाप रहेको प्रहरीले जनाएको छ ।
२८ जना महिला, १९ जना पुरुष, १० बालक र पाँच बालिका गरी हालसम्म ६२ जनाको निधन भएको तथ्याङ्क प्रहरीले सार्वजनिक गरेको हो ।
दुई दिनसम्म आएको अविरल वर्षाका कारण देशभर २०० भन्दा बढी व्यक्तिले ज्यान गुमाउँदा सबैभन्दा बढी मानवीय क्षति भएको जिल्ला हो काभ्रे ।