काठमाडौँ, १४ असोज । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार ७०७ सवारीसाधन काठमाण्डौं उपत्यका भित्रिएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले आइतबार साँझदेखि झ्याप्लेमा अवरुद्ध सडक खुलेयता अलपत्र यात्रुहरूसहित लिएर सयौँ सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिए ।
त्यसै गरी सोमबार दिउँसोपछि काठमाडौँबाट पनि सो राजमार्ग भएर सवारीसाधन पठाउने तयारीमा प्रहरी खटिएको प्रवक्ता तिवारीले जानकारी दिए ।
त्यसै गरी सोमबार दिउँसो गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक समेत बसेको छ । बैठकमा सुरक्षा निकायका प्रमुखहरूले बाढी, पहिरो, डुबान तथा विपद्मा भइरहेको उद्धार, राहत, घाइतेको उपचार र अवरुद्ध सडक खुलाउने विषयमा भइरहेको जानकारी गराएका छन् ।
आज साँझसम्म काभ्रेपलान्चोकको बिपी राजमार्ग अन्तर्गत रोशी खोलामा अलपत्र परेका सबै यात्रुहरूको उद्धार भइसक्ने प्रवक्ता तिवारीले जानकारी दिए । अहिले त्यहाँ नेपाली सेनासहित सुरक्षाकर्मीको टोली हवाई उद्धार देखी डोरीको सहायताबाट समेत अलपत्र यात्रुहरूको उद्धार निरन्तर गरिरहेको उनले बताए ।
अहिले बिस्तारै सडक खुल्ने र खुलाउने क्रममा रहेको र अझै पहिरो लगायत जोखिम टरिसकेको बताउँदै उनले अवरुद्ध सडक सुचारु गर्न सरोकारवाल निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन भएको बताए ।