भक्तपुर, १२ असोज । शुक्रवारदेखि परेको अविरल वर्षाका कारण भक्तपुर जिल्लामा नौ महिने गर्भवती महिलासहित पाँच महिलाले ज्यान गुमाएका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरले शनिबार साँझ सार्वजनिक गरेको विवरणअनुसार अविरल वर्षासँगै आएको पहिरोको कारण कालिकोट सानी त्रिवेणी नगरपालिका-५ घर भई सूर्यविनायक-९ सूर्यमोड बस्ने बर्ष २४ की बमिला शाही, १४ वर्षकी मनिषा शाही, चार वर्षकी श्रीया बमको निधन भएको छ । मृतक बमिला शाही नौ महिनाको गर्भवती रहेको खुलेको छ ।
त्यस्तैगरी सूर्यविनायक-८ आशापुरी बस्ने वर्ष ५० की मसली तामाङ र वर्ष ३७ की मनु तामाङको निधन भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन मणि अधिकारीले जानकारी दिए ।
खोलामा बगेर घाइते भएका दुईजनाको अस्पतालमा उपचार जारी छ । बालकोट गोदावारी पुल नजिकै खोलामा बगिरहेको अवस्थामा भेटिएकी ३९ वर्षकी लालु सरादारको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भईरहेको छ ।
त्यस्तै धोविखोलामा बगेर घाइते भएका सूर्यविनायक-५ गुण्डु बस्ने वर्ष ७१ को सानु तामाङको भक्तपुर अस्पतालमा उपचार भईरहेको डिएसपी अधिकारीले बताए ।
डुवानमा परेर भक्तपुर जिल्लामा ४१७ घर र २२४ टहरामा क्षति पुगेको छ । सुरक्षाकर्मीले डुवानमा परेर २७ महिला र २९ पुरुष गरी कूल ५६ जनाको उद्दार गरेको जनाएका छन् ।