धुलिखेल, १२ असोज । शुक्रवारदेखि परेको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न ठाउँमा गएको पहिरोमा परेर अहिलेसम्म दश जनाको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले सङ्कलन गरेको तथ्याङ्कअनुसार पहिरोमा परेर धुलिखेल, बनेपा, पनौती, नमोबुद्ध नगरपालिका र भुम्लु गाउँपालिकामा गएका पहिरोमा परेर उनीहरूको निधन भएको हो ।
निधन हुनेमा तीन महिला, तीन पुरुष, तीन बालक र एक बालिका रहेका छन् ।
धुलिखेल-१० र ११ मा गएको पहिरोमा परेर एक/एक जना पुरुषको निधन भएको छ भने बनेपा-१४ थल्चोकमा दुई महिला र वडा नम्बर १० मा एक बालकको निधन भएको हो ।
त्यस्तै गरी पनौती-१२ मा एक महिला, पनौती-१४ खत्री गाउँमा एक बालक, नमोबुद्ध नगरपालिका-२ श्यामपाटीमा एक/एक बालक, बालिका र भुम्लु गाउँपालिका-८ सिदरेचौरमा एक पुरुषको निधन भएको हो ।
पहिरोमा परेर घाइते भएका १६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।
प्रहरीका विभिन्न इकाईहरूले सङ्कलन गरेको तथ्याङ्क अनुसार अहिलेसम्म सात महिला, तीन पुरुष र तीन बालिका गरी १३ जना बेपत्ता छन् । बेपत्ताको खोजतलास भइरहेको छ ।
पहिरोमा परेका १६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।