बिराटनगर, १२ असोज । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि स्थानीय प्रशासनले कोशी ब्यारेजमा सवारी आवागमन र पैदलयात्रा बन्द गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बेद राज फुयलले कोशी व्यारेज पुलमा पानीको वहाव अत्यधिक मात्रामा बढ्न गएको हुँदा सो बाट हुन सक्ने क्षेतिको सम्भावनालाई मुल्याङ्कन गरी पुलबाट हुने आवागमनलाई बन्द गरिएको केटिएम दैनिकलाई बताए ।
शनिबार दिउँसो ३ बजे ५ लाख ३१ हजार क्युसेक बाढी मापन भएपछि सवारी साधन र सर्वसाधारणलाई पनि हिँड्न रोक लगाइएको हो ।
सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा अहिले एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।
दिउँसो ४:०० बजेदेखि अर्को सूचना जारी नभएपछि कोशी ब्यारेज बन्द रहने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
साथै यात्रु तथा सवारी चालक महानुभावहरुलाई बैकल्पिक मार्गको प्रयोग गर्न समेत आग्रह गरिएको छ । कोशीको चतरा खण्डमा अर्को पुल छ। उदयपुर हुँदै सवारीसाधनहरू चतराबाट दक्षिण झरेर पूर्व पश्चिम राजमार्गको इटहरी निस्कन सक्छन्।
पानीको बहाव बढेसँगै पूर्वी र पश्चिमी तटीय क्षेत्र आसापासका बासिन्दाहरू त्रसित भएका छन् । भारतीय पक्षले ७ लाख क्युसेक बहाब पुग्ने अनुमान गर्दै सतर्क रहन सुचित गरेको छ ।