बनेपा, १० असोज । काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका-५ मा आज दिउँसो मिनी ट्रक दुर्घटना हुँदा घाइते भएका चालकको निधन भएको छ ।
बिहीबार दिउँसो १:०० बजे अरनिको राजमार्गमा धुलिखेलबाट पाँचखाल तर्फ जाँदै गरेको बा ५ ख १२८१ नं. को आईचर गाडी ३७ किलो केराघारीमा दुर्घटनामा परेको हो ।
आफै अनियन्त्रित भएर सडकबाट अन्दाजी ७० मिटर तल खसेर गाडी दुर्घटना हुँदा उक्त गाडीका चालक गम्भीर घाइते भएका थिए ।
घाइते चालकलाई उपचारको लागि एम्बुलेन्सद्वारा धुलिखेल अस्पताल लगिएको थियो । उनको टाउको पछाडि र च्यापुमा चोट रहेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।
घाइते चालककको उपचारको क्रममा ३:३० बजे निधन भएको डिएसपी श्रेष्ठले बताए ।
सवारीचालक अनुमतिपत्र र नागरिकता प्रमाणपत्रको आधारमा मृतक सिन्धुली मरिण गाउँपालिका-१ वस्ने २८ को रमेश ठाडा मगर रहेको प्रहरीले जनाएको छ ।