विराटनगर, १० असोज । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी जवान टिकाराज खापुङ्गलाई २०८१ साल भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी ‘वेस्ट पुलिस अफ दी मन्थ’ घोषित गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूहमा कार्यरत प्रहरी जवान खापुङ्गले विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको भन्दै प्रदेश कार्यालयले उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
भदौ ६ गते सुनसरीको धरान -१३ मा धनकुटाबाट आउँदै गरेको ट्रकमा ४४ वटा बोरामा रहेको १ हजार ४ सय २० किलोग्राम गाँजा सहित २ जनालाई र इटहरी-१ बाट २ सय ४३ किलो ५०० ग्राम तयारी गाँजा बोकेको कार सहित चालकलाई नियन्त्रणमा लिएको र भदौ १७ गते धरान-१३ निसानेबाट ४ वटा बोरामा ९८ किलोग्राम गाँजा बोकेको कार नियन्त्रणमा लिएको साथै भदौ २९ गते मोरङको ग्रामथान गाउँपालिका-४ स्थितबाट जुवा खेल्ने ९ जनाको समूह सहित जुवाको खालबाट १६ थान कौडा र १८ लाख ४९ हजार ५ सय रुपैयाँ समेत बरामद गर्न भूमिका निभाएको भन्दै उनलाई उत्कृष्ट घोषित गरिएको हो ।
प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले प्रदेशभर कार्यरत प्रहरीहरूमध्ये उत्कृष्ट कार्य गर्ने प्रहरीलाई २०७५ वैशाखदेखि हरेक महिनामा पुरस्कृत गर्दै आइरहेको छ ।