काठमाडौं, १० असोज । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि आइतबारसम्म भारी वर्षा हुने भन्दै ५६ जिल्लालाई उच्च जोखिम (रेड अर्लट) मा राखेको छ ।
महशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै आइतबार बिहानसम्म सातवटै प्रदेशमा भीषण वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको हुने भएकाले पूर्वसावधानी अपनाउन भनेको छ ।
महाशाखाका अनुसार ५६ जिल्लामा भिषण बर्षाको सम्भावना छ । यो वर्षाले धानबालीलाई समेत असर गर्ने जोखिम छ सबैभन्दा धेरै कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षाको सम्भावना छ । मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भीषणदेखि अत्यधिक वर्षा हुने चेतावनी दिइएको छ ।
महाशाखाका अनुसार बिहीबार दिउँसोदेखि देशभर हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, बागमती, गण्डकी तथा लुम्बिनीका थोरै स्थान तथा मधेशका एक-दुई स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ भने तराईका केही स्थानमा हावाहुरी चल्नेछ।
शुक्रबार भने देशभरी वर्षा हुनेछ आँकलन छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका केही स्थान तथा मधेशका थोरै स्थानमा भीषणदेखि अत्यधिक वर्षाको र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा अत्यधिक वर्षाको आकलन छ ।
शनिबार पनि अधिकांश जिल्लामा वर्षा हुनेछ । बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ। त्यस्तै, आइतबार दिउँसोदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।
कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम, पाँचथर, मधेश प्रदेशका सिरहा, सप्तरी,पर्सा बागमती प्रदेशका मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा,मनाङ लुम्बिनी प्रदेशका रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके, बर्दिया कर्णाली प्रदेशका जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत, सल्यान सुदूरपश्चिम प्रदेशका कैलाली, डोटी र अछाममा रेड अर्लट जारी गरिएको हो ।
त्यस्तै ताप्लेजुङ, संखुवासभा, सोलेखुम्बु, बारा, धनुषा, रौतहट, सर्लाही, महोत्तरी, मुस्ताङ, डोल्पा, कालिकोट, जुम्ला, डडेलधुरा, कञ्चनपुर, बझाङ्ग, बाजुरा, दार्चुला र बैतडी जिल्लालाई मध्यम जोखिममा राखिएको छ ।
मुगु र हुम्ला निम्न जोखिममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षाको कारण भू-क्षय, बाढी, पहिरोको जोखिम रहेको र रातीको समयमा पानी पर्ने सम्भावना बढि हुने गरेकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन महाशाखाले अनुरोध गरको छ।