पोखरा, ७ असोज । सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले पाँच दिन हिरासतमा राखेर अनुसन्धान अग्रण अनुमति दिएको कास्की प्रहरी प्रवक्ता डिएसपी बसन्त कुमार शर्माले केटिएम दैनिकलाई बताए।
जोशीलाई आइतबार काठमाडौँमा पक्राउ गरेर राती पोखरा ल्याइएको थियो । जोशी विदेश जाने तयारी गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले शंखमुलबाट जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको हो ।
उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् ।
पोखरा-४ नालाकोमुखमा रहेको सुर्य दर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेडको सेयर, बचत तथा जगेडा लगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधान विपरित हिनामिना एवं अपचलन गरी सहकारी संस्थाबाट गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्क प्रा.लि. ( ग्यालेक्सी फो के टिभी) मा लगानी भएको पाइएको छ ।
सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित गोरखा मिडियाका सञ्चालक जीबी राई, कुमार रम्तेल र तत्कालिन प्रबन्ध निर्देशक रबि लामिछानेलाई नाम किटान गरेर कारबाही गर्न निर्देशन दिएको थियो ।