काठमाडौँ, ३ असोज । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल संयुक्त राष्ट्र संघको ७९ औ महासभामा भाग लिन बुधबार राती अमेरिका प्रस्थान गरेकी छन् ।
डंगोललाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट विदाइ गरेका हुन् ।
विदाइका लागि प्रशासन विभागका प्रमुख नमराज ढकाल, सभा गृहका प्रमुख सुदर्शन भट्टराई, सचिवालय प्रमुख सौरभ गौत्तमसहित अधिकारीहरु गएका थिए ।
डंगोलसँगै डडेलधुराको परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशी, युवा नेता अब्दुस मियाँ पनि महासभाका लागि प्रस्थान गरेका छन् ।
भाद्र २७ गते महासभाको औपचारिक उद्घाटन भइसकेको छ । ‘कसैलाई पनि पछाडि नछाडौँ, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव निष्ठा सुनिश्चित गर्न सहकार्य गरौँ’ भन्ने नाराका साथ महासभा सुरु भएको हो ।
महासभा वैठकअन्तर्गतको समिट अफ द फ्युचरमा उपप्रमुख सहभागी हुन डंगोलाई काठमाडौँस्थित युएनको प्रतिनिधि कार्यालय र नेपाल सरकारले, युवा नेतृत्व प्रतिनिधिका रुपमा मनोनयन गरेको हो ।
महासभाको कार्यक्रम तालिकाअनुसार असोज ६ र ७ गतेका कार्यक्रममा उपप्रमुख सहभागी हुनेछिन् । उपप्रमुखको सचिवालयका अनुसार समिटका अतिरिक्त संयुक्त राष्ट्र संघका साइड एजेन्सीले आयोजना गर्ने अन्य कार्यक्रममा उपप्रमुख डंगोलले सहभागिता जनाउनेछिन् ।
औपचारिक कार्यक्रम सुरु भए पनि उच्चस्तरीय छलफल भने असोज ८ गते देखि सुरु हुनेछ । यो छलफल असोज १२ गतेसम्म चल्नेछ । महासभाको समापन असोज १४ मा हुने कार्यतालिका छ । नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १० गते महासभामा सम्वोधन गर्ने कार्यक्रम तय भएको छ ।