पोखरा, २७ भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टीबाट हटाइएका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् ।
लागूऔषध बिक्री गरेको आरोपमा आज कास्की प्रहरीलाई उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले श्रेष्ठ पक्राउ परेको पुष्टि गरे ।
केटिएम दैनिकसँगको कुराकानीमा थापाले भने, ‘गत साउन ३ मा लागुऔषध मुद्दामा पक्राउ परेका रोल्पाका प्रकाश थापामगरले श्रेष्ठको नाम पोलेपछि उनलाई पनि नियन्त्रणमा लिइएको हो।’
गत साउन ३ गते पोखरा-२ बाग्लुङ बसपार्कबाट रोल्पा त्रिवेणी गाउँपालिका-७ स्थायी घर भई हाल पोखरा-४ नालामुख बस्ने वर्ष ४२ को प्रकाश थापा मगरलाई लागू औषध टापेन्टाडोल ९७ चक्की सहित पक्राउ गरिएको थियो ।
पक्राउ परेका थापा मगरले उक्त लागू औषध पोखरा-९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीबाट खरिद गरी ल्याएको भन्ने व्यहोराको बयान गरेपछि उक्त फार्मेसीका एकल संचालक ढाका कुमार श्रेष्ठलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।
उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर पक्राउ गरिएको हो ।
२०७९ को आमनिर्वाचनमा समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेका श्रेष्ठ गत वर्ष ‘टेप प्रकरण’ का कारण निस्कासित भएका थिए । श्रेष्ठ समानुपातिकबाट सांसद रहेकै अवस्थामा व्यवसायी दुर्गा प्रसाइँसँग घुस मागेको अडियो बाहिरिएपछि रास्वापाद्वारा पदबाट हटाइएका थिए ।