काठमाडौँ, २५ भाद्र । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भारतको राजधानी नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मङ्गलवार भारत प्रस्थान गरेका छन् ।
बुधवारबाट नयाँ दिल्लीमा सुरु हुने एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय सो सम्मेलन दुई दिनसम्म चल्ने छ । उक्त सम्मेलन भारत सरकार र आईकाओले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन ।
एशिया प्रशान्त क्षेत्रमा नागरिक उड्डयनलाई थप प्रभावकारी बनाउन नयाँ रोडम्याप तयार गर्ने उद्देश्यले हुन लागेको सो सम्मेलनको बिहीबार हुने समापन समारोहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उक्त सम्मेलनमा करिब ४१ देशका २५० भन्दा बढी प्रतिनिधिको सहभागिता हुने जनाइएको छ ।